काठमाण्डौ : बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा देखिएको छ । यसको प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको छ । भने तराईका धेरै ठाउँमा हावाहुरीसहित चट्याङपरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव विस्तारै बढ्दै जार्दै छ । यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर पर्नेछ।
आज नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ ।
उता, नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् ।
प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १२:२४