दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्यो

काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो ।

आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा

मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरिएको हो ।

मलेसिया सरकारले आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सिमाना खोल्ने घोषणा गरिसकेको छ । कोरोना महामारीका कारण मलेसियाले मार्च २०२० देखि सिमाना बन्द गर्दै आएको थियो ।

अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

अब मलेसियामा प्रवेश गर्न पूर्ण खोप लगाएकाले क्वारेन्टाइनमा बस्नुपर्ने छैन । उनीहरुले प्रस्थान गर्नुभन्दा दुई दिन अघिको पिसीआर परीक्षण र आगमनमा भने परिक्षण गर्नुपर्ने हुन्छ । तर खोप नलगाएकाले भने मलेसिया आइपुगेपछि पाँच दिनको क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।


प्रकाशित | २९ फाल्गुन २०७८, आईतवार १८:४०