आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले अन्तर्राष्ट्रिय सिमा नाका खुल्ला गर्ने निर्णय गरेको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साबरीले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सिमाना खोल्ने घोषणा गरेका हुन ।

मलेसियाले दुई वर्ष पछि सिमा नाका खोल्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण मलेसियाले मार्च २०२० देखि सिमाना बन्द गर्दै आएको थियो ।

प्रधानमन्त्री साबरीले मलेसियाले लगभग ९८ प्रतिशत जनसंख्यामा पूर्ण रूपमा खोप लगाइएको र आधा भन्दा बढीले बूस्टर डोजहरु प्राप्त गरेपछि सिमा नाका खोल्ने निर्णय गरेको बताए ।

‘अब मलेसियामा आउँन पूर्ण खोप लगाएकाले क्वारेन्टाइनमा बस्नुपर्ने छैन । तथापि, उनीहरुले प्रस्थान गर्नुभन्दा दुई दिन अघिको पिसीआर परीक्षण र आगमनमा भने परिक्षण गर्नुपर्ने हुन्छ’, प्रधानमन्त्री साबरीले भने ।

पूर्ण खोप नलगाएका यात्रुहरूका लागि प्रवेश प्रक्रियाहरू बारे भने बुधबार स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले जानकारी गराउने पनि बताए ।

‘हाम्रो संक्रमणबाट महामारी चरणको एक भागको रूपमा सरकारले अप्रिल १ बाट देशका सीमानाहरू खोल्ने निर्णय गरेको छ’, प्रधानमन्त्री साबरीले भने, ‘यो कदमले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्नेछ, विशेष गरी पर्यटन उद्योग जुन महामारीबाट धेरै प्रभावित छ।’

विज्ञान र कोभिड १९ सँग सम्बन्धित हालका तथ्यहरूका साथै अन्य देशहरूमा सिमाना पुनः खोल्ने निर्णयमा आधारित भएर निर्णय गरिएको पनि उनले प्रष्ट पारे ।

‘देशले यात्रुहरूलाई सुविधा प्रदान गर्न र उनीहरूको यात्रा प्रक्रियालाई जटिल बनाउन चाहान्न् ‘, उनले थप्दै भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, मलेसिया अब एक गन्तव्य हो जुन खुला छ र सबैले भ्रमण गर्न सक्छन् ।’

मलेसियामा आउने विदेशी यात्रीहरूका लागि उनीहरूले अब यात्रा अनुमति मार्फत आवेदन दिन आवश्यक नपर्ने पनि उनले बताए ।

उनले भने, ‘अब उनीहरूलाई केवल एप डाउनलोड गर्न आवश्यक छ र पूर्व प्रस्थान फारम भर्नुपर्छ। मलेसियालीहरू पनि कुनै पनि अन्य देशमा यात्रा गर्न स्वतन्त्र छन् ।’

‘सिङ्गापुर जस्ता देशहरूले आफ्नो सिमाना खोलेका छैनन्’, साबरीले भने, ‘मलेसियालीहरूले अझै पनि भ्याक्सिनेटेड ट्राभल लेन विधि प्रयोग गर्न सक्छन्।’ उनले थाइल्याण्ड, ब्रुनाई र इन्डोनेसियासँग पनि भ्याक्सिनेटेड ट्राभल लेन (भिटिएल) कार्यान्वयन गर्ने क्रममा रहेको बताए ।


प्रकाशित | २४ फाल्गुन २०७८, मंगलवार २०:५६