स्थानीय निर्वाचनको विषयमा सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं – स्थानीय तहको निर्वाचनको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । यसअघि शनिबार विहान छलफल भएपनि सहमति जुट्न नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक फेरि बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्छ ।

यसअघिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव गर्नुभएको थियो ।

ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं : प्रधानमन्त्री देउवा

बैठकपछि एक कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन सामाना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन भए पनि सामाना गर्न तयार रहेको बताउनु भएको हो ।

स्थानीय निर्वाचन जुनसुकै बेला पनि सामना गर्न तयार छौं : माधव नेपाल


प्रकाशित | १५ माघ २०७८, शनिबार १७:४६