ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । उहाँले भन्नुभयो, ‘कहिले गर्ने त भन्नु भएको छैन, तर ऐनअनुसार नै स्थानीय तहको निर्वाचन गरौं भन्नुभएको छ । साँझ कानून व्यवसायीहरुसँग परामर्श गर्छौं । त्यसपछि एउटा निर्णयमा पुग्छौं ।’

तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए । तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिनु भएको थियो ।


प्रकाशित | १५ माघ २०७८, शनिबार १७:२८