स्थानीय निर्वाचन जुनसुकै बेला पनि सामना गर्न तयार छौं : माधव नेपाल

काठमाडौ – नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन सामाना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन भए पनि सामाना गर्न तयार रहेको बताउनु भएको हो । आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने पनि उहाँले दावी गर्नुभयो ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने बताउनु भयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गर्नुभयो ।

अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गर्नुभयो। अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरूको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको समेत बताउनुभयो।

‘चुनावको कुराबाट बरु अरु आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान् । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली काँग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ’, उहाँले भन्नु भयो ।


प्रकाशित | १५ माघ २०७८, शनिबार १४:२०