काठमाण्डौ: सवारी जाम कम गर्न कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ लागू गरिएको छ । यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू भइसकेको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।
“धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ”, उहाँले भन्नुभयो । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यो व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाममा कमी आउँने हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने वाध्यता हट्ने बताउनुभयो । जाम हटेसँगै एउटै सवारी साधन धेरैपटक ओहोरदोहोर गर्दा धेरै आम्दानीसमेत हुने उहाँको भनाइ छ ।
प्रकाशित | १६ बैशाख २०७६, सोमबार ०९:५५