नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त छु, नियमावली निर्माणमा भने चलाखो हुनुपर्छ: सोनाम लामा

काठमाडौं :  गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदल (२०१९–०२१) का संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ ।

लामाले एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैर आवासीय नेपालीहरुमा उर्जा थपिने बताउनु भयो ।  आज मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले बजेट परित भएको भोलिपल्ट नै संसदमा नागरिकता विधेयक पेश हुने जानकारी दिनु भएको थियो । 

‘नेपालको संविधान २०७२ ले सामाजीक, आर्थिक र साँस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता व्यवस्था गरेको र वैवाहिक अगींकृत नागरिकतामा देखिएको असमझदारीका कारण विधेयक संसदमा दर्ता भएता पनि पेश हुन सकेको थिएन’, लामाले जारी गर्नु भएको विज्ञप्तिमा भनीएको छ, ‘यस विधेयकको मस्यौदा तयार पार्ने देखि संसदमा दर्ता गराउने सम्मका कार्यहरु गैर आवासीय नेपाली संघको नेपाली नागरिकता निरन्तरता कार्यदलको २०१९–२१ कार्यकालको संयोजकको हैसियतले म र यस कार्यदलका सदस्यहरुले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा सरोकारवालाहरु संग समन्वय र सहकार्य गर्दै यहाँ सम्म पुर्याएका हौं । आसा छ, सम्मानित सदनले यस विधेयकलाई छिट्टै नै पारित गरी गैर आवासीय नेपालीहरुमा उर्जा थप्ने काम गर्नुका साथै मातृभुमी प्रतिको समिप्यतालाई अझ प्रगाढ पार्न मद्दत मिल्नेछ ।’

उहाँले गैर आवासीय नेपालीको यात्रा विधेयक पारित हुँदैमा पूरा नहुने बताउनु भयो । उहाँले संयमीत भई धैर्यताका साथ नियमावली निर्माणको समयमा थप चनाखो हुनुपर्ने र प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता पर्ने पनि बताउनु भयो ।

‘म यस अवसरमा सबै राजनीतिक दलहरू र कार्यदलका सदस्यहरू लगायत अन्य सम्बन्धित सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छु तर हाम्रो यात्रा अझै सकिएको छैन किनकि नियमावलीको मस्यौदा कसरी तयार हुन्छ भन्ने कुरा हेर्न बाँकी छ । तसर्थ नियमावली निर्माणमा सजग, समन्वय र सहकार्य गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु’, उहाँले भन्नु भएको छ । 


प्रकाशित | ३० जेष्ठ २०७९, सोमबार २१:२३