नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्। बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्।

थप आठ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ।

आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताउनुभयो ।

यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।


प्रकाशित | ११ भाद्र २०७७, बिहीबार १६:३६