‘एनआरएनए फाउण्डेशन’ दर्ताको लागि आवश्यक कानुनी व्यवस्था गरिदिन परराष्ट्र मन्त्रीलाई आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएनए फाउण्डेशन’ को दर्ताको लागि कानुनी व्यवस्था गरिदिन परराष्ट्र मन्त्री समक्ष आग्रह गरेको छ । संघको विधानमा व्यवस्था भए अनुसार परराष्ट्र मन्त्रालयमा प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेको हो ।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका सभापति डा. बद्री केसीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्नुहुँदै सो माग गर्नुभएको हो ।

भेटमा विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न पनि माग गर्नुभयो । विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य बिभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराउनुभएको थियो ।

कोभिड १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसंग अनुरोध गरिएको थियो ।

यस्तै मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

भेटमा गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश शम्शेर राणाको समेत उपस्थिती रहेको थियो ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १४:०९