राष्ट्रपति विरुद्धको रिट सुनुवाइ हेर्न नभ्याइनेमा

काठमाडौँ -राष्ट्रपतिको कदमविरुद्ध परेको रिटको सुनुवाइ आइतबारका लागि सरेको छ । बिहीबार दर्ता भएका ५ वटा मुद्दा शुक्रबारका लागि तोकिएको थियो ।

न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएकोमा शुक्रबार पालो नआएपछि आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतमा बिहीबार राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका थिए । अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ताद्वय सुनीलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी, मोरङको रंगेली नगरपालिकाका देव शर्मा र सोनु रौनियारले संयुक्त र छुट्टाछुट्टै रिट दर्ता गराएका हुन्।

उनीहरूको रिटमा संघीय संसद्ले दोस्रो पटक प्रमाणीकरण गरी पठाएको विधेयक संविधानको सीमा १५ दिनभित्र प्रमाणीकरण नगरेकी राष्ट्रपतिलाई प्रमाणीकरण गर्नू भन्ने आदेश दिन माग गरिएको छ।


प्रकाशित | ७ आश्विन २०७९, शुक्रबार १६:१३