नेपाल तेक्वान्दो संघ प्रदेश ३ को आयोजनामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असार ५ देखि हुने

काठमाडौं :  पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप असार ५ देखि शूरु हुने भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ को आयोजनामा असार ५ देखि ७ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हो ।  आयोजकले एक पत्रकार सम्मेलन गर्दै सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा ७ प्रदेशको खेलाडीको विभिन्न स्पर्धामा प्रतिस्पर्धा रहने गरि प्रतियोगिता गरिनेछ ।

 नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ का कार्यवाहक अध्यक्ष केशव पुरीका अनुसार ग्योरीगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेमा एकल, जोडी र टिम समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक प्रदेशबाट प्रत्येक तौल समूहमा एक जना मात्र खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा ग्योरीगीतर्फ ९ पुरुष र ७ महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका ३ महिला र ३ पुरुषगरि कुल १५४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

करिब २५ लाख लागत खर्च रहेको प्रतियोगितामा सहभागी सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ । यस्तै खेलाडीको लागि १ लाख सम्मको दुर्घटना बिमा समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता दौरान विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको दौरान दोस्रो क्लास रेफ्री उतीर्ण भएका नविन कुमार श्रेष्ठ, ओलम्पियन संगीना बैध्य, ओलम्पियन दिपक विष्ट,तालिम तथा पशिक्षण विभागका प्रमुख बनेका प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमन बज्राचार्य र एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयुषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मान गर्ने कार्यवाहक अध्यक्ष पुरीले जानकारी गराउनुभयो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार २०:४३