म मुस्कुराउँदै फर्किने छु आमा!

संगीता विश्वकर्मा 

दर खाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ, आमाले फोनमा भन्नुभयो, ‘वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शून्यता छायो, तिमी आइनौ छोरी।’ बोली फुटेन, भक्कानिँदै फोन राखेँ अनि आँखाबाट गंगा बगाएँ, तबमात्र मन अलि हल्का भयो। भित्तामा हेरें, घडीले साढे सात बजाइसकेछ। खाना खान मन लागेन, कपडा लगाएँ अनि ड्युटी निस्किएँ।

मलाई पनि आउन मन नभएको त कहाँ हो र, सम्हालेर राखेकी छु आमा ती विगतहरू। आफ्नै घर, आफ्नै पाखापखेरा, आफ्नै गाउँका गीत-संगीत, हजुरको काख सबैको सम्झना मुटुभरि छन्। आमा, हाम्रो मिलन-भेट न झरी, न झरना, न त कुनै खोला-नदी, केही कुनैले पनि छेक्न सक्दैनथ्यो। तर आज विवशता र जिम्मेवारीले मलाई चाडपर्वभन्दा धेरै बाबुआमा र बालबच्चाको स्वास्थ्य नै ठूलो लागिरहेको छ।

मेरो पेसा-कार्यले तपाईं जस्तै धेरै आमाहरूको मुहारमा चमक आइदिन्छ। आमा, तपाईंलाई जति पिर-चिन्ता छोरीको छ, मलाई त्यति नै पिर अन्य आमाहरूको छ। प्रसूति पीडामा छट्पटाइरहेका ती आमाहरू छाडेर म मेरी आमाको अँगालो भर्न आउन सकिनँ आमा। जतिसुकै पिर-चिन्ता अभाव भए पनि हामीले आफ्नो धर्म भुल्ने छैनौं भनेर बलेको मैनबत्ति समाती कसम खाएका थियौं।

जसको स्वास्थको लागि हामी दिनरात नभनी खटिरहेका छौं, आज उनैबाट हामी अपमानित र तिरस्कृत भएका छौं तर पनि हामी काममा विचलित भएका छैनौं। मेरी आमा, तपाइँलाई थाहै छ, आज विश्व मै कोरोना भाइरस (कोभिड-१९) महामारीसँग लडिरहेको छ। सम्पुर्ण स्वास्थ्यकर्मी आफ्नो ज्यानको परवाह नगरी जोखिम मोलेर उचित सेवा-सुविधा नहुँदा पनि रोगसँग लडिरहेका छन्। जनतालाई स्वस्थ बनाउन खटिरहेका छन्। आफ्ना र आफन्त नै नजिक पर्न डराइरहेको अवस्थामा हामी प्रत्यक्ष सम्पर्कमा रही उपचार गरिरहेका छौँ।

यो समय हामीलाई सबै क्षेत्रबाट सहानुभूति र हौसलाको खाँचो छ, सँगै सम्पूर्ण जनताको सचेतना जरुरी छ। कोभिड-१९ लाई मास्कले छेक्छ/रोक्छ, स्यानिटाइजरले मार्छ भन्ने सुनेको धेरै भो तर हालसम्म पनि यो नियन्त्रण बाहिरै छ। औषधि समेत पत्ता लागेको छैन।

विभिन्न राष्ट्रहरूमा स्वास्थ्यकर्मीहरू सम्मानित भइरहेको बेला हाम्रो देशमा बसिरहेका घर/कोठा छोड्न बाध्य बनाउने, सामूहिक रूपमा घेराउ गरी अपमानित गर्ने, भौतिक आक्रमण समेत गर्ने गरेका घटनाहरू दैनिक बढिरहेका छन्। 

आमा, हजुरलाई थाहै छ, हामी युद्धमा होमिएका सिपाही जस्तै भएका छौं। फर्किने टुंगो छैन, हाम्रो हतियार भनेको तपाईं र तपाईं जस्तै अन्य आमाहरुको आशिर्वाद, सहानुभूति र हाम्रै आत्मविश्वास हो। हजुरले जागिर मात्र नखाएस्, अरुले आहा! भन्ने गरी काम गर्नु भनेको म सधैं सम्झिरहन्छु।

म जागिर मात्र खान होइन, देश र जनताको सेवा गर्न कसम खाएर यो क्षेत्रमा प्रवेश गरेकी हुँ। आशिर्वाद दिनुस् आमा, तपाइँकी छोरी बाँचेर मात्रै होइन, बचाएर फर्किने छे। हामी सबैको सहकार्य र मिहिनेतमा मानव जगतकै अभिशाप यस कोरोना भाइरसको विनाशपश्चात् मानव जातिको विजय लिएर मुस्कुराउँदै फर्किने छु। हो म फर्किने छु आमा!  स्रोत -स्वास्थ्य खवर

(विश्वकर्मा स्वास्थ्य सेवामा कार्यरत छिन्।)


प्रकाशित | ११ भाद्र २०७७, बिहीबार १६:११