अल्भेस ब्राजिलियन क्लबमा आबद्ध

साउ पाउलो:  बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व सेन्टर ब्याक डानी अल्भेस ब्राजिलियन क्लब साउ पाउलोमा तीन वर्ष आबद्ध भएका छन् । फ्रान्सेली महारथी पीएसजीबाट उनी यो गत सिजनको अन्त्यसँगै खाली भएका थिए । उनले स्वदेशी क्लबसँग सन् २०२२ को डिसेम्बरसम्मका लागि सम्झौता गरेका छन् । उनीमाथि प्रिमियर लिगका क्लबले पनि चासो राखेको बताइएको थियो ।

‘उनी विश्वस्तरीय खेलाडी हुनुका साथै व्यावसायिक रूपमा निकै प्रतिबद्ध छन्,’ साउ पाउलोका अध्यक्ष कार्लोस अगस्टो डी बारोस ए सिल्भाले विज्ञप्तिमार्फत भनेका छन्, ‘उनीमा अझै पनि उपाधि जित्ने र खेल जित्ने उस्तै भोक छ ।’  अध्यक्षका अनुसार उनले पहिला नै साउ पाउलोमा खेल्ने प्रतिबद्धता जनाएका थिए । उनले त्यो प्रतिबद्धता पूरा गरेको भन्दै अध्यक्षले खुसी व्यक्त गरेका छन् । ब्राजिलियन क्लबले ३६ वर्षे रक्षकलाई भिœयाएको ट्विटरमार्फत जानकारी दिएको थियो । उनको कप्तानीमा ब्राजिलले हालै कोपा अमेरिका जितेको थियो ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १०:१९