सप्तरी – सप्तरीमा आजदेखि लागू हुने गरी एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो । निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि सप्तरीको राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा हालसम्म ५ सय ३१ जनामा संक्रमित हुँदा एकजनाको मृत्यु भइसकेको छ ।
यसभन्दा पहिले बारा, पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर लगायतका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ।
प्रकाशित | २० श्रावण २०७७, मंगलवार ११:३१