बिदेश जानेका लागि कोरोना परीक्षण गर्न ११ अस्पताल तोकियो

काठमाडौँ : सरकारले विदेश जाने नेपालीका लागि पिसिआर परीक्षण गर्न ११ ओटा अस्पताल तोकेको छ । लकडाउन खुल्ला भई भदौं १ गतेबाट हवाई उडान सञ्चालन गर्ने तयारीसँगै स्वास्थ्य मन्त्रालयले बिदेश जानेहरुका लागि पिसिआर परीक्षण गर्न अस्पताल तोकेको हो ।

मन्त्रालययका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पैसा तिरेर पिसिआर परीक्षण गर्नका लागि ११ ओटा अस्पताललाई अनुमति दिइएको हो । अनुमती पाउनेमा उपत्यकाभित्र वीर अस्पताल, पाटन अस्पताल र त्रिबि शिक्षण अस्पताल छन् उपत्यकाभित्र यी तीन अस्पतालमा पिसिआर परीक्षण गर्न पाइने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार उपत्यका भन्दा बाहिर सेती अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र कर्णाली प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतलाई पिसिआर परिक्षण गर्न अनुमति दिइएको छ ।

साथै बिदेशी नियोगमा काम गर्ने कर्मचारीहरुले पिसिआर गर्न परे उपत्यकामा रहेको नीजी अस्पतालहरुमा गर्न सक्नेछन् । उपत्यकाभित्र ललितपुरमा रहेको स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजलाई अनुमति दिइएको पनि प्रवक्ता गौतमले बताउनुभयो ।
गौतमले सरकारले तोकेको र अनुमति दिएको अस्पतालमा मात्र पिसिआर परीक्षण गर्न आग्रह पनि गर्नुभएको छ ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार २०:३१