दोस्रो चरणको संक्रमण बढ्दै, गर्भवती र सुत्केरी पनि जोखिममा

काठमाडौं । देशकै ठूलो काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा पछिल्लो महिनामा कोरोना संक्रमण सम्बन्धी उपचार गराउनेको संख्या बढ्दैगएको छ ।

छिमेकी मुलुक भारतलगायत अन्य देशमा दोस्रो चरणको कोभिड संक्रमितहरुको संख्या बढेसँगै नेपालमा पनि यसको त्रास बढ्ने देखिएको हो । थापाथली अस्पतालका उपनिर्देशक डा। श्रीप्रसाद अधिकारीकाअनुसार यसबीच कोभिड संक्रमण सम्बन्धमा जाँच गराउनेहरुको संख्या शून्य अवस्थामा पुगेको थियो । तर दोस्रो चरणको कोभिड संक्रमणले गर्भवती तथा सुत्केरी महिलाहरुमा कोरोनासँग सम्बन्धित लक्षणहरु जाच गराउनेको संख्या बढेको छ ।

त्यसो त, अस्पतालले कोरोना महामारी चर्केको समयमा १६३ जना कोरोना संक्रमित गर्भवती एवम् सुत्केरी महिलाको उपचार गरेको थियो । जसमा दुई महिलाको अवस्था गम्भिर भएको र एक संक्रमित महिलाको मृत्युभएको थियो । दोस्रो चरणको कोरोना महामारीको हल्लासँगै ओपीडीमा समेत विरामी बढ्न थालेको उपनिर्देशक डा. अधिकारीले जानकारी दिनुभयो ।

कोरोना के बाट सर्छ ?

डाक्टर अधिकारीकाअनुसार दोस्रो चरणको कोरोना पनि सामान्यतः हावा, शवासप्रश्वास र पहिलो चरणको कोरोनाअनुरुप नै सर्ने सैद्धान्तिक व्याख्या छ । गर्भवती तथा सुत्केरी महिलाले अझ बढी ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो । विशेषगरी सानो ठाउँमा धेरै जना गुम्सिएर नबस्न, सामाजिक दुरी कायम गर्न, बेला–बेलामा साबुन पानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न, मास्क लगाउन उहाँले सुझाव दिनुभयो ।

शिशुमा संक्रमण जोखिम कति ?

पहिलो चरणको कोरोना महामारीमा गर्भवती तथा सुत्केरी महिलामा कोरोना संक्रमण देखिए पनि गर्भको शिशुमा भने संक्रमण नदेखिएको डाक्टर श्रीप्रसाद अधिकारीले बताउनुभयो । उहाँकाअनुसार भर्खरै जन्मेको शिशुमा कोरोना संक्रमणको डर हुने हुनाले सो अनुरुपको सुरक्षा मापदण्ड अनिवार्य रुपले अपनाउन उहाँले सुझाव दिनुभयो ।

के छ अस्पतालमा व्यवस्था ?

उपत्यकासहित देशैभरमा कोरोना संक्तमण फैलिएसँगै देशैभरका सरकारी तथा निजी अस्पतालहरुमा संक्रमणविरुद्धको संरचना तथा विधि अपनाइएको थियो ।

पहिलो चरणको कोरोना महामारी सुरु हुँदादेखि नै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पनि ट्रायज् राखिएको छ । जहाँ अस्पतालमा आउने गर्भवती तथा सुत्केरी महिलालाई सुरुमा कोरोना सम्बन्धि लक्षणको चेकजाँच गराई उपचार गरिने व्यवस्था छ ।

नेगेटिभ आए वार्डमा भर्ना गरिने र पोजिटिभ आए कोभिड वार्डमा राखिने गरिएको छ । यो पटक पनि यसलाई निरन्तरता दिइएको डाक्टर अधिकारीले जानकारी दिनुभयो । त्यसो त, झण्डै एक वर्षअघिदेखि अर्थात् कोरोना महामारी नेपाल प्रवेश गरेदेखि नै अस्पतालले सो अनुरुपको तयारीसाथ नै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।

त्यसो त, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा वार्षिक २२ देखि २४ हजार र मासिक २ हजारको हाराहारीमा गर्भवती एवम् सुत्केरी महिलाको उपचार हुने गर्दछ । पहिलो चरणको कोरोना महामारीमा फ्रन्ट लाइनमा बसेर कोरोनाविरुद्धको लडाई गर्ने स्वास्थ्यकर्मीहरुको पर्सनल प्रोटेक्टिभ इक्प्मिेन्ट्को अभावमा संक्रमितको उपचारमा समस्या देखिएको थियो ।

यो पटकको कोरोना महामारीमा पनि यसखाले अभाव र आइपर्ने विविध समस्याहरु न्यूनीकरण एवम् व्यवस्थापनमा सम्बन्धित सबैले ध्यान दिदा अझ राम्रो हुने चिकित्सकको सुझाव छ । गोरखापत्र दैनीकमा प्रकाशित समाचार


प्रकाशित | १६ चैत्र २०७७, सोमबार ०९:५५