दक्षिण अफ्रीकालाई बंगलादेशको ३३१ रनको फराकिलो लक्ष्य

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३३१ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनमा केनिङटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनायो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे ।

यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए । दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २/२ विकेट लिए ।

आज दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा दुवै टिम २ अंक जोड्न चाहन्छ । तुलनात्मक रुपमा बंगलादेश भन्दा दक्षिण अफ्रिकी टोली बलियो देखिएको छ । तर, बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रीकालाई कडा चुनौती दिने बताएको छ । विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १९:४५