अमेरिकाद्धारा एक सय थान आधुनिक पोर्टेवल भेन्टिलेटर सहयोग

कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण : मन्त्री ढकाल

काठमाडौँ । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ, नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री ढकालले कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने भन्दै उहाँले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गर्नुभयो । उहाँले कोरोना परीक्षणमा सहयोगी जीन एक्सपर्ट विगतमा पनि ७ हजार सहयोग गरेको स्मरण गर्दै फेरि पनि त्यस्तो सहयोग हुने अपेक्षा गर्नुभयो । मन्त्री ढकालले कोरोना समूदायस्तरमा फैलिसकेको अवस्थामा आरटी पिसिआर जस्तै विश्वसनीय जीन एक्सपर्टको प्रयोगले सजिलै कोरोना पहिचान गरी नियन्त्रणमा सहयोग पुर्याउने बताउनुभयो ।

सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताउनुभयो ।


प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार १४:१३