एनआरएनए आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीको दावेदारी

आयरल्याण्ड। गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीले दावेदारी प्रस्तुत गर्नु भएको छ । वर्तमान आइसिसी सदस्य समेत रहनु भएको कार्कीले आगामी कार्यकालको लागि नेतृत्वमा दावेदारी प्रस्तुत गर्नु भएको हो । लामो समयदेखि आयरल्याण्डमा बस्दै आउनु भएको कार्की एनआरएनए आयरल्याण्डको संस्थापकमध्येको एक हुनुहुन्छ । एनआरएनए आयरल्याण्डमा सर्वसम्मत नेतृत्वको लागि कार्कीले आफ्नो प्रयास जारी राख्नु भएको छ । कार्कीले सबैको सल्लाह, सुझाव र अग्रजहरुको आग्रहमा एनसिसी नेतृत्वको लागि अगाडि बढेको बताउनु भयो ।

को हुन कार्की ?

पृष्ठभुमी

दोलखाको मेलुङ गांउपालिका वडा नं २ घ्याङसुकरठोकरमा जन्मनु भएका विनोद बुबा कृष्ण बहादुर र आमा राधा कार्कीको एक्लो सन्तानका रुपमा जन्मनु भएको हो । बाल्यकाल सुखद् नै बिताउनु भएको कार्की सानैदेखि मिहिनेती, अध्ययनशील हुनुहुन्थ्यो । कार्कीले उच्च शिक्षा काठमाडौंबाट गर्नु भयो ।

विदेश प्रस्थान

आफुले कलेजमा अध्ययन गरिरहदाँ नेपालको तत्कालीन अवस्था निकै नाजुक थियो । राजनीतिक अस्थिरता, अवसरबिहिन अवस्थाकै कारण ब्याचलर पश्चात आफ्नो भविष्य सुनौलो बनाउन सन् २००१ मा उहाँ विदेश तर्फ प्रस्थान गर्नु भयो । कार्की हालसम्म पनि आयरल्याण्डलाई नै कर्मथलो बनाएर बस्नु भएको छ ।

आयरल्याण्डमा बसोबास

विनोद कार्कीले आयरल्याण्डमा बसाईसँगै होटल व्यवसायमा हात हाल्नु भयो र लामो समय सोही क्षेत्रमा आवद्ध भइरहनु भएको छ ।  सन् २००२ सेक्टेम्बरमा उहाँ आयरल्याण्ड पुग्दा गैर आवासीय नेपालीहरुको साझा संगठन स्थापित भइसकेको थिएन । तत्कालीन अवस्थामा आयरल्याण्डमा निकै थोरै नेपालीहरुको बसोबास रहेको थियो । उहाँ भन्नुहुन्छ,‘गनेरै मान्छे चिन्न सक्ने नेपाली थिए ।’ जे होस् आयरल्याण्डमा रहेका नेपालीहरु एकढिक्का हुनुपर्छ भन्ने भावना पलायो र त्यसैको फलस्वरुप नेपाल आयरल्याण्ड सोसाइटी गठन भयो । सो समयमा पटक पटक आयरल्याण्ड सोसाइटीको जिम्मेवारीमा रहेर उहाँले भूमिका निर्वाह गर्नु भयो । उहाँले आयरल्याण्डमा भएका नेपालीहरुलाई एकत्रित बनाउन, नेपालको रीतिरिवाज तथा संस्कृती जोगाउन सोसाइटीमा रहदा उहाँले निकै नै महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

एनआरएनएमा प्रवेश

विश्वका विभिन्न देशहरुमा गैर आवासीय नेपालीहरुको साझा संगठन एनआरएनएको संजाल विस्तार भइरहँदा आयरल्याण्डमा पनि एनआरएनए स्थापना गर्नु पर्छ भन्ने महशुस गरियो र विनोद कार्की सहित केही अगुवाहरुको प्रयासबाट सन् २००७ मा एनआरएनए आयरल्याण्ड स्थापित भयो । संस्था गठन भइसकेपश्चात उहाँले उपाध्यक्षको भूमिका निभाउनु भयो । सो समयमा ७ जनाको समूहले समिति बनाएर एनआरएनए आयरल्याण्ड स्थापना गरेको उहाँ सम्झनु हुन्छ । आफु संस्थापक उपाध्यक्ष भएपनि उहाँले कहिल्यै पनि नेतृत्वका लागि हतार गर्नु भएन ।

आफु सधै पछाडि बसेर एनआरएनए आयरल्याण्डलाई अगाडि बढाउन उहाँ निरन्तर लागि पर्नु भयो । एनआरएनए आयरल्याण्डको जुनसुकै पदमा रहँदा वा नरहँदा उहाँले निस्वार्थ रुपले काम गरिरहनु भयो । चाहे त्यो आयरल्याण्डमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न होस् वा नेपालमा आइपर्ने विभिन्न विपद्हरुमा होस्, उहाँ कुनै स्वार्थबिना सेवा भावमा लागिरहनु भयो ।

सोही सिलसिलामा विनोद कार्की सन् २०१७ देखी सन् २०१९ को कार्यकालमा एनआरएनए आयरल्याण्डको सल्लाहाकारको रुपमा उभिनु भयो । संस्था स्थापनाकाल देखीनै सक्रिय रुपमा लागिपर्नु भएका कार्कीलाई एनआरएनए आयरल्याण्डको दरिलो खम्बा भन्दा अत्युक्ति पक्कै नहोला । पटक–पटक आफ्नो पोल्टामा नेतृत्व सम्भव हुँदा पनि अन्य आकाँक्षीहरको भावनालाई कदर गर्दै पछाडि नै बसेर सक्रिय रुपमा लाग्नु नै उहाँको सबैभन्दा महानता हो ।

नेतृत्वमा दावेदारी

शरीर विदेशमा भएपनि मन सधै नेपालमा नै भइरहने उहाँ बताउनु हुन्छ । नेपालको कला संस्कृती, रीतिरिवाजले मन मात्रृभूमितिरै तानिरहन्छ । कतै विदेशमा रहेका नेपालीहरुले आफ्नो कला संस्कृति त विर्सीने हैनन् भन्ने उहाँलाई डर लागिरहन्छ । त्यसैले त विदेशमा रहेका नेपालीहरुलाई एउटै परिवार बनाउन अनि परिवारभित्रको आत्मियतालाई संस्कृति अनि रीतीरिवाजको माध्यमबाट अझ प्रगाढ बनाउन उहाँ दिलो ज्यान दिएर लागि पर्नु भएको छ । यती मात्रै हैन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको पिडामा मल्हम लगाउन उहाँ सधै अग्रसर हुदैँ आउनु भएको छ ।
त्यसैको कारणले गर्दा होला आयरल्याण्डमा रहेका नेपालीहरुले उहाँलाई सम्मान गर्ने गर्छन् । सोही विश्वासलाई अझ मजबुत बनाउन यतीबेला उहाँ एनआरएनए आयरल्यण्डको नेतृत्वका लागि अगाडि बढिरहनु भएको छ ।

विगतमा पूरा हुन नसकेका अधुरा कामहरुलाई पूरा गर्न, मातृभूमि नेपाल तथा आयरल्याण्डमा रहेका नेपालीहरुको लागि केही महत्वपूर्ण काम गर्न, संस्थामा भएका बिकृती विसंगतीहरुलाई पन्छाउन, नेपालको कला संस्कृती जोगाउन, नयाँ पुस्तालाई एनआरएनएमा जोड्न लगायतका काम गर्न आफू नेतृत्वको लागि अग्रसर भएको कार्की बताउनुहुन्छ । आइसिसी सदस्यको जिम्मेवारी पूरा गरिसक्नु भएको कार्कीलाई आफूले स्थापना गरेको संस्थामा बसेर नेतृत्वदायी भूमीका निर्वाह गर्ने ठूलो इच्छा छ । आइसिसी सदस्यमा खासै भूमीका नभएकाले केन्द्रमा गएर भन्दा एक पटक एनसिसी आयरल्याण्डकै नेतृत्व गर्ने उहाँको इच्छा छ ।

समग्रमा आयरल्याण्डबासी नेपालीहरुले भोग्नु परेको समस्या समाधान गर्न तथा देखेका सपना पूरा गर्नका लागि सर्वसम्मत नेतृत्वको लागि प्रयास भइरहेको कार्की बताउनु हुन्छ । नेपालमा आपत्त विपत्त पर्दा होस वा हरेक कार्यमा सक्रिय भूमीका निर्वाह गर्नु भएको कार्की संस्थामा योगदान गरेको कारण सबैको विश्वास जित्न सफल हुने पनि बताउनुहुन्छ । अघिल्लो कार्यकालमा समेत निरविरोध आइसिसी सदस्यमा निर्वाचीत हुनु भएको कार्की यस पटक पनि आफू सर्वसम्मत अध्यक्ष बन्नेमा विश्वस्त हुनु हुन्छ ।


प्रकाशित | ११ असार २०७८, शुक्रबार २१:५६