देशमा स्थिरता नचाहनेले सरकार परिवर्तनको हल्ला फैलाए : प्रधानमन्त्री ओली

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा स्थिरता नचाहनेले सरकार परिवर्तनको हल्ला फैलाएको बताउनुभएको छ । सरकारविरूद्ध भइरहेका गलत प्रचार र फैलाइएका भ्रमको पछि नलाग्न आग्रह गर्दै वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

केही केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताउनुहुँदै ओलीले देशको प्रगति हेरेर तर्सिएकाहरुले यी सब गलत भ्रम फैलाएको उल्लेख गर्नुभयो ।

‘सरकारको लोकप्रियता दैनीक बढिरहेकाले देशमा स्थिरता नचाहने, विकास नचाहनेहरुले यस्ता भ्रम फैलाएका हुन’, यस्ता गलत प्रचार र भ्रमको पछि नलाग्नुस्’, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा आइपुग्नु भएको ओलीले सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै भन्नुभयो, ‘सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको छ, देशको समृद्धि नचाहने विभिन्न तत्व सरकारविरुद्ध लागिपरिहेका छन् ।’

सरकार कुनै पनि हालतमा नढल्ने स्प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन वर्तमान सरकारले फिर्ता ल्याउला र लोकप्रियता बढ्ला भनेर उनीहरु आत्तिएको बताउनुभयो । आफूले देशलाई गलत बाटोमा जान नदिने पनि स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गर्नुभयो । शाक्यले घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गर्नुभयो । ओलीसँगै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।


प्रकाशित | ८ मंसिर २०७७, सोमबार १५:५१