कर्णाली प्रदेश सरकार: छोरी जन्मिए खातामै एक हजार

सुर्खेत : कर्णाली प्रदेश सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रपैयाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम घोषणा गरिएको छ । छोरीको सुरक्षाका लागि सात करोड विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महीना रु ५०० का दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिने बताउनुभयो । उहाँले छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा समेत गरेको बताउनुभयो । उहाँले सो कार्यका लागि रु ७ करोड बजेट छुट्याईएको र यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहन स्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ । स्वास्थ्य संस्थामा आई बच्चा जन्माउने आमालाई पोषणबापत दुई हजार रुपैयाँ उपलब्ध गराइने निर्णय गरिएको छ । प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समान रुपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


प्रकाशित | २ असार २०७६, सोमबार १५:४५