एनआरएनएद्धारा दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । विसं २०७७ मा लेखिएका गैर आवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिने भएको हो ।

यो पुरस्कारको राशी दुई लाख नेपाली रुपैँया छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवासी नेपाली लेखकले यसमा भाग लिन पाउनेछन् । यो पुरस्कार ब्यवस्थापनका लागि एनआरएनएको भाषा, साहित्य तथा सम्पदा समितिले एक छुट्टै समिति निर्माण गरेको छ । समितिका संयोजक हिक्मत थापा यसका संयोजक हुनुहुन्छ । समितिका सदस्यहरुमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त हुनुहुन्छ ।

पुरस्कारका लागि एक सल्लाहकार समिति पनि गठन गरिएको छ । त्यसमा नेपाल प्रज्ञा प्रतीष्ठानका कुलपती गङ्गा प्रसाद उप्रेती, एनआरएनएका अध्यक्ष कुमार पन्त र एनआरएनएका पूर्व अध्यक्ष तथा लेखक जीवा लामिछाने हुनुहुन्छ । पुरस्कार प्रत्येक वर्षको गैर आवासीय नेपाली संघको साधारण सभा वा अक्टोवरमा हुने एनआरएन डे को अवसर पारेर दिईने छ ।

पुरस्कारका लागि उक्त अवधिमा लेखिएका पुस्तक समितिले संकलन गर्ने छ । यो अवधिका पुस्तक पठाउन लेखक, प्रकाशक, संघसस्था र लेखकका शुभचिन्तकलाई आह्वान समेत गर्ने छ ।

समितिका संयोजक हिक्मत थापाका अनुसार नेपाली लेखकहरुलाई सम्मान गर्न र अझै हौसला बढाउन तथा नेपाली भाषा तथा संस्कृतिको संरक्षणका लागि पुरस्कार स्थापना गरिएको हो ।


प्रकाशित | २४ जेष्ठ २०७८, सोमबार १२:१९