संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य नहुने कोइराला समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नु भएको छ । छलफलले संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य नहुने निष्कर्ष निकालेको छ । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, डा.रामशरण महत र बलबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधानअनुसार निर्वाचन गरिनुपर्ने र त्यसका लागि पार्टीभित्र छलफल चलाउनुपर्नेमा जोड दिए । उनीहरुले पहिलो स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिदैं वर्तमान सत्ता गठबन्धन पार्टीको लागि घातक बन्दै गएकाले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष पनि निकालेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो समय पार्टीभित्र छलफल नगरि एक्लौटी ढंगले अगाडि बढेकोमा आपत्ति समेत जनाए । कोइराला पक्षले सभापति देउवा केही सीमित मानिसको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रुमल्लिएको भन्दै यसबारे उहाँलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

छलफलमा नेता कोइरालाले पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु उचित नभएको बताउनु भयो ।


प्रकाशित | १० माघ २०७८, सोमबार २२:०९