सरकारले अस्पतालहरुको क्षमता र बिरामी संख्याबारे प्रत्येक दिन सार्वजनिक सूचना निकाल्नुपर्छ : सोम मिश्र (अन्तर्वार्ता )

भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रको फेसबुकमा शनिबार बिहानै भावुक स्टाटस पोष्ट भयो – राति १२ बजेदेखि लगातार आइसियू खोजी गरियो । धेरै अस्पताल र तीनका हाकिमहरुसँग जीवनको भिख मागियो । केही उपाय लागेन । अन्तत: एक सहृदयी मित्र, समाजसेवीलाई बचाउन सकिएन । हार्दिक श्रद्धाञ्जली नारायण लामिछाने । शोकसंतप्त परिवारजनप्रति गहिरो समवेदना । सुरक्षित रहौं , घरमै बसौं, स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरौं ‘ कोरोना महामारीको वर्तमान अवस्थामा मेयर मिश्रको यो स्टाटसले सबैलाई  सोचमग्न बनायो । मिश्र जनप्रतिनिधि मात्र नभई वर्तमान सरकारको पार्टी नेकपा एमाले भक्तपुरका जिल्ला ईन्चार्ज समेत हुनुहुन्छ । के वास्तावमै उपत्यकामा कोरोना महामारी अनियन्त्रीत भएकै हो वा अस्पतालमा बेड भएर पनि कालोबजारी भइरहेको हो ? सोही विषयमा केन्द्रित भएर विश्व सन्देशकी कार्यकारी सम्पादक सुनिता प्रोखरेलले मेयर मिश्रसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, मेयर मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंश ;-

यहाँले अस्पतालमा बेड नपाएको भनेर भावुक स्टाटस लेख्नु भयो । जनप्रतिनिधिहरुलाई त यस्तो अवस्था छ भने सर्वसाधारणको अवस्था कस्तो होला ?

यसमा मैले दुईवटा कुराको सन्देश दिन खोजेको छु । एउटा जनता अझै पनि सचेत भएको अवस्था छैन । चिया पसलमा गफिएर बस्ने, विवाह, भोज भतेरका कार्यक्रम भइरहेका छन् । मास्क अझै पनि नलाइकन हिडिरहेको देखिन्छ । जनता सचेत हुनु पर्यो । अर्को कुरा, प्रत्येक अस्पतालको बेड संख्या कति हो ? आइसीयू कति हो ? भेन्टिलेटर कति हो ? कुन अस्पतालको कति क्षमता हो र प्रत्येक दिन सो अस्पतालमा कति बिरामी छन् ? यी कुराको सरकारले सार्वजनिक सुचना निकाल्नु पर्यो । मलाई के शंका लाग्यो भने अस्पतालले भएर पनि छैन भनिरहेका छन् ।

कोरोना महामारी बढ्दो छ, रोकथामका लागि चाँगुनारायण नगरपालिकाले के–के कामहरु गरिरहेको छ ?

कोरोनाको दोस्रो लहरमा हामीले आइसोलेशन वार्डहरु तयार गरेका छौं । व्यवस्थापनका लागि हाम्रो स्रोतसाधनले भ्याएसम्म कामहरु गरिरहेका छौं ।

आइसोलेसन सेन्टर व्यवस्थापनका लागि सहज असहज परिस्थिती के छ ?

आइसोलेसन व्यवस्थापन गर्न समस्या छ । सुरक्षाको, खानपानको, स्वास्थ्य सुविधाको व्यवस्थापन गर्न कठिन नै छ । तथापी हामीले व्यवस्थापन गरिरहेका छौ । अक्सिजन जुटाउन गाह्रो भइरहेको छ । कोरोनाको दोस्रो लहरमा कोभिड अस्पताल सुरु गर्यौ । अस्पतालमा कोभिडका बिरामीलाई भर्ना गर्न सुरुवात गरेका छौ ।

चौबीसै घण्टा उद्योगहरु चलेका छन् भन्छ सरकार तर बजारमा अक्सिजन पाइदैंन । मैले एकजना बिरामीको लागी आइसीयू खोज्दा एउटा अस्पतालले बेड छ तर अक्सिजनको व्यवस्था आफैं गर्नुस् भन्यो । अर्को कुरा यहाँ भएको कालोबजारीको अनुगमन गर्नु पर्यो र कडाई गर्नु पर्यो ।

नगरपालिकामा यतिबेला कोरोना संक्रमितको दर कस्तो छ  ?

कोरोना संक्रमित दर एकदमै बढ्दो छ । औसतमा ३० जनाको दरले बढिरहेको छ । हाल नगरपालिकामा संक्रिय संक्रमितको संख्या साढे ३ सय पुगिसकेको छ । ३ जनाको मृत्यु भयो । आइसोलेनमा पनि संख्या बढ्दो छ ।

कोरोना नियन्त्रणको लागि केन्द्रीय तथा प्रदेश सरकारबाट यहाँले के–कस्तो अपेक्षा राख्नु भएको छ ?

सबैले आफ्नो भूमिका इमान्दारीपूर्वक निभाउनु पर्छ । यस्तो अवस्थामा सरकारले गर्छ भनेर जनता चुप लागेर बस्ने बेला पनि छैन । जनताले कम्तिमा पनि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरे मात्रै पनि कोरोना धेरै फैलन पाउँदैन । सरकारले पनि आफ्नो भूमिका निभाउनु पर्छ । एउटा कुरा सरकारले हरेक दिन प्रत्येक अस्पतालको बेड संख्या कति हो ? आइसीयू कति हो ? भेन्टिलेटर कति हो ? कुन अस्पतालको कति क्षमता हो र प्रत्येक दिन सो अस्पतालमा कति बिरामी छन् ? भन्ने कुराको सुचना निकाल्नु पर्छ ।

दोस्रो कुरा, अक्सिजनको उपलब्धताको बारेमा गम्भिर बन्नु पर्यो । चौबीसै घण्टा उद्योगहरु चलेका छन् भन्छ सरकार तर बजारमा अक्सिजन पाइदैंन । मैले एकजना बिरामीको लागी आइसीयू खोज्दा एउटा अस्पतालले बेड छ तर अक्सिजनको व्यवस्था आफैं गर्नुस् भन्यो । अर्को कुरा यहाँ भएको कालोबजारीको अनुगमन गर्नु पर्यो र कडाई गर्नु पर्यो ।


प्रकाशित | २५ बैशाख २०७८, शनिबार १८:०९