कोरोनाविरुद्ध औषधि छर्कने भन्ने भ्रामक समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौँ : नेपाली सेनाले विभिन्न सामाजिक सञ्जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड १९) विरुद्ध किटनाशक औषधि छोडिने, भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै हाल विश्वभर फैलिँदै गएको कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी सुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईसकेको जनाएको छ ।

यसका अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनाशक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराएको छ ।

हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेनाले सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाईरस प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत सेनाले अनुरोध गरेको छ ।

त्यस्तै, नेपाली सेनाले कोरोना भाईरसविरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सँधै प्रतिवद्ध रहेको पनि जानकारी गराएको छ ।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १९:१३