सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शनिबार सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना ५ ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

बसको ठक्करबाट सो पसलमा चिया पिउन बसिरहेका कञ्चनरुप नगरपालिका–८ का ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बसमा सवार र चिया पसलमा बसिरहेका आठ घाइते भएकोे प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए। घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गतको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका करिब ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा मोटरसाइकल दुर्घटनमा परी एकको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज ३५६२ नम्बरको गाडीले सोही दिशातर्फ जाँदै गरेको को १५ प ५५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक पोर्ताहकै २२ वर्षीय शङ्कर पघैया यादव घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। रासस |


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ११:०३