भट्टराई र यादवले गरे पार्टी एकता गर्ने सहमती-पत्रमा हस्ताक्षर: एकता सोमबार घोषणा

काठमाडौं: नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।

आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकता घोषणा गरिने छ। नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष यादव दोस्रो वरीयतामा रहनेछन्।

दुई पार्टीबीचको सहमति पत्रमा भनीएको छ, समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने छ ।’


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १५:४१