एनआरएनए यूरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरु

आयरल्याण्ड –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा यूरोप क्षेत्रीय सहसंयोजक शुक्रराज न्यौपानेले संयोजक पद्मा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष समेत रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

न्यौपानेले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ । उहाँले संस्थालाई राजनैतिक हस्तक्षेप हुनबाट जोगाउन आफ्नो प्रमुख एजेन्डा रहेको बताउनु भयो । संघमा राजनैतिक हस्तक्षेपले संस्थाको उद्देश्य र सांगठनीक धरातल कमजोर बनेको न्यौपानेको भनाई छ ।

उहाँले संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउँदै सबै गैर आवासीय नेपालीहरुको भावनालाई समेटेर एकीकृत, समावेशी र सबैको साझा एनआरएन बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

साथै उहाँले संघलाई विधी, पद्धति र विधान अनुसार अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिर्दै एनआरएनका हरेक गतिविधीहरु विधानसम्मत गराउने र विधानभन्दा माथि कोहि नरहने गरि आफूले कार्य गर्ने बताउनु भयो ।

त्यस्तै, केन्द्रीय नेतृत्वको संस्थागत योजनाहरुमा राम्रा योजनाहरुलाई साथ दिने, यूरोप क्षेत्रीय एनसिसीहरुको कार्यलाई मूल्यांकन गर्न यूरोप क्षेत्रभित्रका अग्रज अभियन्ताहरुलाई समेटेर मूल्यांकन समिति गर्ने र उहाँहरुको सुझावअनुसार वेस्ट एनसिसी अवार्ड अफ द टर्म घोषणा गरि पुरस्कृत गर्ने समेत आफ्ना योजना रहेको बताउनु भयो ।

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल मुद्धालाई स्थापीत गर्न विभिन्न दबाबमूलक कार्यक्रम मार्फत नेपाल सरकारलाई ध्यानर्कषण गराउने, यस अघि एनआरएनए यूरोप क्षेत्रबाट अगाडि बढाइएका परियोजनाहरुलाई निरन्तरता दिने पनि उहाँका योजना छन् ।

त्यस्तैगरि, गैर आवासीय नेपाली संघ यूरोप क्षेत्रका पूर्व अध्यक्षहरुको सम्मान स्वस्प अध्यक्ष मण्डल गठन गरि उहाँहरुको परामर्श लिएर अन्य योजना हरुको निर्माण गरि यूरोप क्षेत्रको गतिविधीलाई प्रभावकारी बनाउने पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

उहाँले यूरोप क्षेत्रभित्र नेपाली दूतावास नभएका राष्ट्रहरुमा उक्त देशलाई हेर्ने दूतावास सँग सहकार्य गरि त्यहाँका गैर आवासीय नेपालीहरुको हक हित र सहजताका लागी कन्सुलर सेवा लगायतका सुविधाहरु उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।


प्रकाशित | १३ भाद्र २०७८, आईतवार १२:२४