विश्वकप क्रिकेट: आज उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा

एजेन्सी :  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा आफुलाई कायम राख्न चाहन्छ । दुवै टिम दोस्रो जितको खोजीमा हुने छन् । वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वर्षाको कारण वेष्ट इण्डिजले एक खेलमा अंक बाँडेको थियो ।

तर, वेष्ट इण्डिज पाँचौ खेलमा बंगलादेशलाई हराएर आफ्नो खराब यात्रामा पूर्णबिराम लगाउन चाहन्छ । यस्तै बंगलादेशले पनि ४ खेलबाट ३ अंक जोडेको छ । बंगलादेश पनि वेष्ट इण्डिजलाई हराउँदै आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ ।

बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेका छन् । दुईबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले ४ खेलमा जित निकाल्दा वेष्ट इण्डिजले एक खेलमा मात्र जित निकालेको छ ।


प्रकाशित | २ असार २०७६, सोमबार ११:४२