विदेश अध्ययनमा कडाइ

काठमाडौं: विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ ।

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो । विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन ।

डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन । यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्। अहिले एक वर्षदेखि ६ महिनाका लागि अध्ययन गर्न जाने भन्दै विद्यार्थीले मन्त्रालयबाट एनओसी लिने गरेका छन् ।

डिप्लोमा कोर्स गर्न एसईई मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि जान पाउँछन् । पढाइमा कमजोर विद्यार्थी पनि सहजै विदेश जाने, उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पुँजी बाहिरिने कारण देखाउँदै सरकारले त्यस्ता विद्यार्थीलाई एनओसी दिन रोक लगाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार ०८:२१