‘टिकट काटने पैसा नभएर कामदार अलपत्र, अविलम्ब उद्धार नगरिए अब स्थिती भयावह हुन सक्छ’

यूएई – गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईका उपाध्यक्ष पासाङ शेर्पाले टिकट काटने पैसा नभएर नेपाली कामदारहरु अलपत्र भएको विषयमा नेपाली दुतावास र नेपाल सरकारको ध्यानर्कषण गराउँदै अविलम्ब उद्धार नगरिए स्थिति भयावह हुन सक्ने चेतावनी दिनुभएको छ ।

उपाध्यक्ष शेर्पाले भन्नुभएको छ, ‘श्रम स्वीकृति लिएर आएर पनि कोभिड- १९ का कारण जागिर गुमेर अलपत्र भै टिकट काटन समेत नसक्ने अवस्थामा पुगेका नेपाली कामदारहरुलाई अविलम्ब उद्धार गरिएन भने अब स्थिती झन भयावह हुने निश्चित छ ।’

‘जसो तसो भोको पेट भर्न त संघसंस्थाले राहत देला तर अब कम्पनीहरुले समेत आवासबाट निकाली दियो भने त्यो राहत बोकेर एक त दिनको २५ दिरहम जरिवाना बढाएर त्यही माथी अरबको गर्मीमा नेपाली कामदार कहाँ जालान ?’ उपाध्यक्ष शेर्पाले प्रश्न गर्दै भन्नुभयो ।

यदि नेपाल सरकार र दुतावासले चहाने हो भने समस्या तत्काल सम्बोधन गर्न सकिने उहाँले बताउनुभयो । ‘जो जो कामदार अलपत्र परेका छन तत्काल उनीहरुलाई पठाउने म्यानपावरहरुसंग सम्पर्क गरेर उनीहरुको टिकट कटाउन लगाउने, बरु त्यसको सोधभर्ना बापत वैदेशिक रोजगार विभागले दिने रकम म्यानपावरले नै दावी गरे पनि गरोस, कामदार सहि सलामत नेपाल पुगे उनीहरुले कानुनले पाए अनुसारको अधिकार भित्र रहेर केही पाउने भए उतै म्यानपावरसंग क्षतिपूर्ति दावी गर्न सहजीकरण गरिदिए पुग्छ’, सरोकारवाला निकायहरुको अविलम्ब ध्यानाकर्षण गराउँदै भन्नुभएको छ


प्रकाशित | १८ श्रावण २०७७, आईतवार १८:२०