बंगलादेश, अष्ट्रेलिया, कतार र स्पेनका लागि राजदूत सिफारिश

काठमाडौं : सरकारले चार रिक्त देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । मन्त्रीपरिषदकाे बिहीबार बसेको बैठकले बंगलादेश, अष्ट्रेलिया, कतार र स्पेनका लागि राजदूत सिफारिश गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार बंगलादेशका लागि एमाले नेता डा. बंशीधर मिश्र, कतारका लागि डा. नारद वाग्ले भारद्धाज, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई संसदीय सुनुवाईका लागि सिफारिश गर्ने निर्णय भएको हो । मिश्र एमाले नेता माधव नेपाल निकट नेता हुन् । वाग्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेल बसेका र हाल त्रिविमा अंग्रेजी विषय अध्यापन गर्छन् । दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष हुन् । उनी कांग्रेसबाट हालसालै नेकपा प्रवेश गरेका थिए । स्पेनका लागि सिफारिश शेर्पा पर्यटन व्यवसायी स्वर्गीय आङ छिरिङ शेर्पाका नातेदार भएको बुझिएको छ ।

यसअघि बंगलादेशबाट डा. चोपलाल भुसाल, कतारबाट रमेश कोइराला र स्पेनबाट राजदूत भरत रायमाझीलाई सरकारले फिर्ता बोलाएको थियो । अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले राजीनामा दिएकी थिइन् । रिक्तमध्ये अब दक्षिण अफ्रिका र दक्षिण कोरियामा राजदूत पद नियुक्त गर्नुपर्नेछ । दक्षिण अफ्रिकाबाट अमृतबहादुर राई र दक्षिण कोरियाबाट अर्जुन जंगबहादुर सिंह फिर्ता भएपछि राजदूत पद खाली छ । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा पर्शुराम काफलेले लेखेका छन् ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ०८:०३