विश्वकप क्रिकेट: इंग्ल्यान्डद्धारा बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । ४० ओभरको तेस्रो बलमा बेन स्टोक्सले बोल्ड आउट गर्नुअघि सकिबले १ सय १९ बलमा १२ चौका र १ छक्का सहित १ सय २१ रन जोडेपनि टोलीको जितको लागि प्राप्त रन हुन सकेन । सकिबलाई अन्य खेलाडीले राम्रो साथ दिन नसक्दा बंगलादेशले फराकिलो हार ब्यहोर्नु परेको हो ।

ओपनर सौम्य सरकारलाई जोफ्रा आर्चरले चौथो ओभरको दोस्रो बलमा २ रनमा बोल्ड आउट गरे । १२ ओभरको अन्तिम बलमा मार्क उडले कप्तान इओन मोर्गनबाट अर्का ओपनर तामिम इकवाललाई १९ रनमा क्याच आउट गराए । विकेटकीपर मुश्फिकुर रहिमले ५० बलमा २ चौका सहित ४४ रन बटले । मोहम्मद मिथुन डक,महमदुल्लाह २८,मोसाद्देक हसन २६,मेहेदी हसन मिराज १२ र मोहम्मद सैफुद्दीन ५ रनमा बोल्ड आउट भए ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ६ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले ८.५ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ३ विकेट हात पारे । मार्क उड २,लियाम प्यान्केट र आदिल राशीदको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनायो । इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न ओपनर जोसन रोयले उत्कृष्ट आक्रमक शतक प्रहार गरे । रोयले २७ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै ९२ बलमा आफ्नो वान डे करियरको नवौं शतक पुरा गरेका थिए ।

आक्रमक रुपमा ब्याटिङ गरेका रोयले ३५ ओभरको चौथो बलमा मेहदी हसन मिराजलाई लगातार चार छक्का प्रहार गर्ने धुनमा मोर्तजाबाट १ सय ५३ रनमा क्याच आउट हुन पुगे । रोयले १ सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । रोयले पहिलो विकेटका लागि ओपनर जोनी वेयरस्टोसँग १९।१ ओभरसम्म १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवता दिलाएका थिए ।

यी दुईबचको साझेदारी मोर्तजाले मेहदी हसनबाट बेयरस्टोलाई ५१ रनमा क्याच गराउँदै तोडेका थिए । उनले ५० ओभरमा ६ चौका प्रहार गरे । जो रुटलाई मोहम्मद सैफुद्दीनले २१ रनमा बोल्ड आउट गरे । जस बटलरले पनि आक्रमक ब्याटिङ गर्दै ४४ बलमा ४ छक्का र २ चौका सहित ६४ रनमा क्याच आउट भए ।

कप्तान इओन मोर्गन पनि ठूलो शट खेल्ने धुनमा ४७ ओभरको पाँचौ बलमा बाउन्डीलाईन नजिकै सौम्य सरकारबाट क्याच आउट हुनुअघि ३३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा आउट भए । तल्लोक्रममा क्रिस वोक्सले ८ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे । लियाम प्यान्केट ९ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा नट आउट रहे । बेन स्टोक्स ६ रनमा आउट भए ।

बंगलादेका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट रह्यो ।

यो बंगलादेशको दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकालेको थियो । न्युजिल्यान्डसँग भने बंगलादेश पराजित हुन पुगेको थियो । बंगलादेशले आफ्नो चौथो खेल आगमी मंगलबार श्रीलंकासँग खेल्ने छ ।

घरेलु टोली इंग्ल्यान्डको यो दोस्रो जित हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इंग्ल्यान्ड पाकिस्तानसँग भने स्तब्ध भएको थियो । इंग्ल्यान्डले आफ्नो चौथो खेल शुक्रबार वेस्ट इन्डिजको सामना गर्ने छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार ०७:१६