नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ गर्ने हुनु भएको छ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने हुनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई आज साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए ।

विपक्षमै रहेको अर्को दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै पनि गठबन्धनमा सामेल नहुने अडान राखेपछि कुनै पनि दलले बहुमत जुटाउन नसक्ने स्थिति देखा परेको थियो । उहाँले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार ०९:०७