सुन तस्करीको शैली फेरिँदै

काठमाडौ: सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् । वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा दीपक अधिकारीले लेखेका छन् ।

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पु(याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् ।


प्रकाशित | ४ असार २०७६, बुधबार १०:०२