तरुण दलले भन्यो, ‘धादिङ जिल्ला उपाध्यक्ष राधेलाई मार्ने षडयन्त्र गरियो’

काठमाडौं: नेपाल तरुण दलले धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई मार्ने षडयन्त्र भएको आरोप लगाएको छ । तरुण दलले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राज्य संयन्त्रले राधेलाई मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले भण्डारीलाई धादिङमा भएको एक विवादमा संलग्न भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै आपत्ती जनाउनुभयो । भण्डारीलाई मार्ने योजना भइरहेको सुचना आएको उहाँको दावी छ । ‘तरुण दलका जिल्ला अध्यक्ष, उपाध्यक्षलाई कहिले सिभिल प्रहरीले, कहिले एसपीले, कहिले इन्स्पेक्टर कहिले डिएसपीले धम्की दिने,’ उहाँले भन्नुभयो, ‘अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ । सांच्ची नै पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासनविरुद्ध अगाडि बढ्नुपर्छ ।’

जिल्ला उपाध्यक्ष भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी तरुण दलले दिएको छ । घादिङ प्रहरीले हतियार देखाएर लुटपाट गर्न खोजेको भन्दै उनलाई बुधबार पक्राउ गरेको थियो ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १६:१२