बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं – सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने भएको हो ।

मन्त्रायलका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्देशनलाई बेवास्ता गर्नेलाई खारेजीको चेतावनी दिनु भएको हो । शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारित भन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।

मन्त्रालयले विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको विषय पनि स्मरण गराइएको छ ।

चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ ।


प्रकाशित | २१ पुष २०७८, बुधबार १९:३२