यूरोपमा के गर्दैछन् पूर्वलडाकु लेलिन विष्ट ?

काठमाडौं :  पूर्व बाल लडाकु लेलिन विष्ट तीन महिनादेखि युरोपमा छन् । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बाल सैनिक लेनिन बिष्टले जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को कार्यालयमा आफूहरुको अधिकार हनन् भएको भन्दै बिहीबार निवेदन दर्ता गराउनुभएको छ ।  तत्कालीन बाल सैनिकले जेनेभामा पुगेर सो निवेदन दर्ता गराउनुभएको हो । नेपालका पूर्व बालसैनिकहरुको बारेमा मानवअधिकार परिषद्मा ध्यानाकर्षण होस् भनेर आफूले निवेदन दर्ता गराएको विष्टले बताउनुभयो ।

बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाइसक्नुभएको छ । बिष्टले अन्तराष्ट्रिय निकायसँग न्यायका लागि गुहार गरेको निवेदनपत्रमा तत्कालीन माओवादी लडाकुमाथि लागेको ‘अयोग्य’ को बिल्ला हटाउनुपर्ने, चार हजार आठ बाल सैनिकका माग सम्बोधन गर्नुपर्ने, बालबालिकालाई लडाकुमा भर्ती गर्दा बालअधिकार उल्लंघन भएको जिम्मेवारी माओवादी नेताले लिनुपर्ने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय मान्यताअनुसार बालअधिकार र न्याय सुनिश्चित गर्नुपर्नेलगायत विषय उठाइएको छ ।

माओवादीले युद्धमा लगाएका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट बञ्चित भएकाले सामाजिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई आर्थिक र सामाजिक प्याकेजको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य उपचार, मनोवैज्ञानिक परामर्श, सामाजिक सहायतालगायत व्यवस्था गर्नुपर्ने विष्टको माग छ ।

बिष्टलाई गत भदौमा एक कार्यक्रममा सहभागी हुन थाइल्यान्ड जान लाग्दा गृहमन्त्रालयको आदेशमा अध्यागमन विभागले विमानस्थलबाट फिर्ता गरिदिएको थियो। त्यसविरुद्ध उहाँले सर्वाेच्च अदालतमा रिट हालेपछि कारण देखाउ आदेश जारी भएको थियो । त्यतिबेला बिष्टले संक्रमणकालीन न्यायका विषयमा कुरा उठाउन सक्ने भन्दै गृहको निर्देशनमा उनलाई विदेश जान रोकिएको थियो । नेपालको शान्तिप्रक्रियामा सघाउन खटिएको राष्ट्रसंघीय मिसनको छानबिनमा बिष्ट स्वयं बाललडाकुको सूचीमा पर्नुभएको थियो ।

 


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १४:५१