केएनपी महिला भलिबलमा एपीएफ च्याम्पियन

काठमाडौं:  सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५-१४,२५-९ र २५-१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि जित्न सफल भएको छ । यस बर्ष एपीएफको यो दोस्रो उपाधि समेत हो । एपीएफले यसै महिना नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि जितेको थियो ।

उपाधिसंगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझायो । प्रतियोगितामा होङ्गवान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पार्यो । नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।

न्यु डायमण्डले पुलिसमाथि २५-२२,२५-१८ र २५-२२ को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो भएसंगै न्यु डायमण्डले ५० हजार प्राप्त गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:४३