सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाउने नीति, खाली जग्गालाई हरियाली क्षेत्रको रुपमा विकास गरिने

भक्तपुर: सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाइने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विपद् जोखिम व्यवस्थापनका सम्बन्धमा तर्जुमा गरिएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूर्यविनायक नगरलाई विपद् जोखिममुक्त सुरक्षित शहर बनाउन जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नु भएको हो ।

नगरपाालिकाले सम्भावित जोखिमयुक्त स्थानमा जोखिम नक्सांकन गरी विपद् हुन नदिन पूर्व तयारी र विपद् अनुकूलन कार्यक्रम सञ्चालन गर्ने, प्राकृतिक एवं गैर प्राकृतिक विपद्कोे पूर्वतयारी, रोकथाम एवं व्यवस्थापन गर्न नदी नियन्त्रण, अग्नि रेखा निर्माण, वृक्षारोपण, तटबन्ध निर्माण लगायतका कार्यहरुलाई निरन्तरता दिइने भएको छ ।

बाढी, पहिरो लगायतका प्रकोपबाट सिर्जित विपद्लाई तत्काल सम्बोधन गर्न नेपाली सेनाको इन्द्र बक्स गण र नगरपालिका तथा मातहतका वडा कार्यालयमा आवश्यक आधारभूत सामग्री भण्डारण गरिएकोमा हाल भएको सामग्रीको अवस्था र आवश्यक अन्य सामग्री थपको व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै, नगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा र खाली रहेका नीजि जग्गाहरुलाई हरियाली क्षेत्रको रुपमा विकास गर्ने नीति पनि लिएको छ । सफा र हरित शहरको सपना साकार पार्न नगर क्षेत्रका खाली जमीनमा वृक्षारोपण, हरितपार्क तथा हरित पदमार्ग निर्माण गर्ने लगायत छ ।


प्रकाशित | १० श्रावण २०८०, बुधबार २१:१३