विनाशकारी हावाहुरी बर्दिया र दाङतर्फ अघि बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हाबाहुरी बर्दिया र दाङतर्फ अघि बढ्दै गएको भन्दै सचेत रहन सबैमा अपिल गरिएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले दिएको जानकारी अनुसार हावाहुरी क्रमश पूर्वतर्फ अघि बढ्दै गएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा आएको भीषणा हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परि घाइते हुनेको संख्या ४० नाँघेको छ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४० नाघेको हो । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार हावाहुरीका कारण गम्भीर घाइते भएका ७ जना सेती अञ्चल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । स्थानीयका अनुसार पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको अनुमान गरिएको छ । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट भीषणा हावाहुरी चलेको हो । हावाहुरीका कारण सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली अवरुद्ध छ । राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार २३:५४