नारकीय जीवन बिताउँदै पूर्वलडाकु

रोल्पा : आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् ।

उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् । छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् ।

‘आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ । सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो ।’ आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ । छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ ।’ यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार ०८:०६