ओली सरकार ढाल्न कांग्रेस र जसपा गठबन्धनसँग मिल्न तयार : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको बताउनुभएको छ । माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) सँग नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनाउन प्रस्ताव गरेको उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

केन्द्रका उपाध्यक्ष श्रेष्ठले जसपाले राखेको मुद्दामाथि छलफल गर्दै ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको निस्कर्ष निकालीएको बताउनुभयो । नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा माओवादीले कांग्रेससहितको गठबन्धनको प्रस्ताव गरेको हो ।

यद्यपी जसपाका अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका नेताहरुले आफुहरुको मुद्दा सम्बोधनका लागि ठोस जवाफ दिन नसकेको बताउनुभभयो । जसपाले सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता र संविधान संशोधन हुनुपर्ने माग शर्त राख्दै आएको छ ।


प्रकाशित | २९ फाल्गुन २०७७, शनिबार १५:०९