निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्की

काठमाडौंः सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो ।

रमेश लागुऔषध कारोबार अभियोग तथा समीरमान र रिगल हत्या अभियोगमा कैद सजाय भोगिरहेका छन् । समीरमानलाई निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग पनि लागेको छ । प्रहरीले गौचन हत्यामै संलग्नमध्ये फरार दुई अभियुक्त पनि निर्माण व्यवसायीलाई धम्क्याउने धन्दामा लागेको जनाएको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०८:१३