नेपाल–भारत सम्बन्ध जनस्तरमै सुमधुर: मोदी

काठमाडौं : नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन् । ओलीले शुक्रबार बिहान भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएको र यसलाई थप उचाइमा लैजान ‘रचनात्मक सहकार्य’ गर्ने बताएका थिए ।

उनले सहकार्यप्रति खुसी व्यक्त गर्दै यही गतिमा सम्बन्ध अगाडि बढाउने आफ्नो चाहना पनि व्यक्त गरे। मोदीले प्रधानमन्त्री ओलीसमक्ष आतंकवादविरुद्ध जुटेर सहकार्य गर्दै समृद्धिमा अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनले यस क्षेत्रबाट आतंकवाद अन्त्य गर्दै थाती रहेका परियोजना अघि बढाउने र नयाँ परियोजना थालनी गर्ने बताएको एक अधिकारीले जानकारी दिए । मोदीले दुईपक्षीय भेटबारे ट्विट गर्दै नेपालसँग सहकार्य गर्दै सम्बन्ध थप उचाइमा लैजान भेटवार्ता महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारी र आशा थपलियाले लेखेका छन् ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार ०८:५१