थाइल्याण्डसँगको खेल रद्द: नेपाल समुह विजेता बन्दै सेमिफाईनलमा

काठमाडौं : थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिता नेपाल समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।विहीबार वर्षाको कारण नेपाल र घरेलु टोली थाईल्यान्डबीचको खेल रद्ध भएपछि दुवै टोलीले एक-एक अंक बाँडे । नेपाल ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसअघि २ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्ड १.५ ओभरमा १ विकेट गुमाउँदा कुनै रन नबनाएको कारण वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू१९ टोलीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । नेपालका लागि आईस भट्टराईले अर्ध शतक प्रहार गरे । उनले ७३ बलमा ९ चौका सहित ५८ रनमा क्याच आउट भए ।

भट्टराईले नेपाललाई विशाल योगफल सम्म पुर्याउन चौथो विकेटका लागि कप्तान विशाल बिक्रम केसीसँग ७३ रनको उत्कृष्ट साझेदारी गरे । २७ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि केसीले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए ।

ओपनर दिपक बोहोराले ३६ बलमा ५ चौका र १ छक्का सहित ३५,सुसान्त थापा शून्य,प्रसान्त महत ९ र कृष कार्की ११ रनमा आउट भए । तल्लोक्रमका विशाल कुमार पटेलले २३ बलमा ५ चौका सहित २८ र निखिल कुमार सिंहले १२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । थाईल्यान्डका नरवत नुनतरचले ३ र योदस्कले २ विकेट लिए । पहिलो खेलमा म्यानमारलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपालले सेमिफाईनलमा समुह बी को उप विजेतासँग खेल्ने छ


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १४:१३