चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी : इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । अजरबैजानमा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्ड नायक बने । सम्भवत चेल्सीबाट अन्तिम खेल खेलेका हजार्डले २ गोल गरे । ७ वर्ष चेल्सीमा बिताएका हजार्डले सिजनको अन्त्यसंगै क्लब छाड्दै छन् । हजार्ड स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना रहेको छ ।

यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । बाकी ओलम्पिक स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले ४ गोल गर्दै उपाधि चुमेको हो । खेलको ४९ औं मिनेटमा जेरुडको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ६० औं मिनेटमा पेड्रोले चेल्सीको अग्रता दोब्बर बनाए । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३-० को बनाए । ६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३-१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-१ को जित दिलाए ।

योसंगै चेल्सीले तेस्रो पटक युरोपा लिगको उपाधि हात पारेको छ । क्लब फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता मानिने युरोपा लिगमा यसअघि चेल्सीले सन् २०१२ र १३ को सिजन जितेको थियो ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०९:२६