सूर्यविनायक नगरपालिका सूर्यजस्तै उज्यालो बनाउनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

भक्तपुर:  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सूर्यविनायक नगरपालिकालाई सूर्यजस्तै उज्यालो बनाउनुपर्नेमा जोड दिनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभा उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले सूर्यविनायक नगरपालिका सूर्यजस्तै उज्यालो बनाउनुपर्नेमा जोड दिनुभएको हो । नगरपालिका स्थानीय सरकार भएको बताउँदै पोखरेलले नपाले राम्रा राम्रा काम गरेर नमुनायोग्य बन्नुपर्ने बताउनुभयो ।

‘जनताको विश्वासभन्दा ठूलो कुरा केहि नभएको भन्दै जनताको विश्वास जितिरहन जनताको चाहानअनुसार काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘जनताको विश्वासको बलमा जस्तोसुकै काम गर्न सकिन्छ यदी जनताको विश्वास भएन भने केहि गर्न सकिन्न भने कुरा कहिल्यै बिर्सन हुँदैन ।’ उहाँले हरेक नगर सभा आफैमा महत्वपूर्ण हुने बताउँदै नगरसभा औपचारिकतामा सिमित हुन नहुने बताउनुभयो ।

विशेष योजना बनाएर विधिसम्मत नगरपालिका सञ्चालन भइरहेकोमा खुसी ब्यक्त गर्दै पोखरेलले कृषि, पर्यटन जस्ता विषयलाई केन्द्रमा राखेर अगाडि बढ्नपर्ने बताउनुभयो । त्यस्तै पोखरेलले वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने बताउँदै सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने बताउनुभयो ।

वर्तमान सरकारले जनताको आवश्यकता अनुसार उद्योगहरु खोल्ने प्रकृयामा रहेको बताउँदै उहाँले नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको बताउनुभयो । उहाँले नेपाल कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्न विशेष भूमिका खेल्ने भएकाले देशको आर्थिक वृद्धिदरलाई बढाउने प्रकारका कार्यहरु गर्न स्थानीय तहलाई आग्रह समेत गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपाली नारामात्र नभई राष्ट्रिय आकांक्षा रहेको जसलाई पुरा गर्न कृषि, उद्योग, पर्यटन, उर्जा, पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताउँदै उहाँले भू–उपयोगको नीतिलाई व्यवस्थित रुपमा कार्यान्यवन गर्दै अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्नुपर्ने जोड दिनुभयो ।

कृषिमा व्यवसायीकरण तथा आधुनीकिकरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले देशमा कुनै पनि वस्तु वा पदार्थ आयातभन्दा निर्यातमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो ठाउँमा आफ्नै उत्पादन गर्छौं भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउँदै विदेशी बस्तुभन्दा आफ्नै देशको उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित | ९ असार २०७६, सोमबार १७:४२