अमेरिकामा कार्यरत नर्सको अनुभव: सिरियस बिरामी र लासको लस्कर देख्दा मन त्यसै अत्तालिन्थ्यो

अमृता रिमाल

म अमेरिकाको ओहायो स्टेटस्थित एक अस्पतालको ट्रमा युनिटमा नर्सको रुपमा कार्यरत छु। कोरोनाले न्युयोर्क सिटी थिलोथिलो बनाएर तीव्र रुपमा मानिसको ज्यान लिइसक्दा पनि हाम्रो स्टेट भने कोरोना संक्रमणबाट टाढै रहेको भान हुन्थ्यो।

तर, त्यो अवस्था धेरै टिक्न भने पाएन। हाम्रो समुदायमा पनि फाटफुट कोरोनाका संक्रमितहरु देखिन थाले। मैले काम गर्ने हस्पिटलमा पनि विस्तारै बिरामीको बढ्न थाल्यो। बिरामीको चापलाई सकेसम्म बढी धान्न सकिने गरी आइसियु युनिटको वरपरका युनिटहरुलाई पनि कोभिड युनिट बनाइयो।

मैले काम गर्ने ट्रमा युनिट पनि कोभिड युनिट बनिसकेको थियो। म र मेरा साथीहरुमा पनि एक किसिमको डर पैदा भइरहेको थियो। कोरोनाको कहरले हजारौँलाई मृत्युशय्यामा पु¥याएको न्युयोर्क सिटीमा कोरोना ओरालो लाग्दै गर्दा ओहायोमा भने कोरोना माथि उक्लिँदै थियो।

पहिलोपल्ट म कोभिद युनिटमा प्रवेश गर्नको तयारी गर्दा हस्पिटलले उपलब्ध गराएको पिपिई तथा अन्य उपकरणले आफ्नो शरीरलाई ढाक्दा मलाई लाग्दै थियो, म मानव वस्ती होइन, कुनै अन्य ग्रहको यात्रा गर्दै छुु। मेरो परिचयको लागि म होइन, मैले झुण्ड्याएको कार्ड मात्र थियो।

पहिलो दिन मैले दुई जना कोभिडका बिरामी हेर्नुपरेको थियो। एक जना ६० वर्षकी महिला थिइन्। अर्का ५१ वर्षका पुरुष थिए। बेलाबेलमा खोकी लाग्दा धेरै छट्पटाउने ती महिला छोटो श्वास लिइरहेकि थिइन्, मानौं कि उनको श्वासले घाँटीलाई छिचोल्न संघर्ष गरिरहेको थियो। अर्का बिरामीको श्वासप्रश्वासको समयमा एक किसिमको आवाज निकालिरहेका थिए, श्वास फेर्न उनी निकै संघर्ष गरिरहेका थिए।

मेरो ड्युटी रातिको भएकोले सबै जना मस्त सुतिरहेको समयमा म भने कोभिडका बिरामीको हेरचाहमा व्यस्त थिएँ। हस्पिटलको बेडमा सुतिरहेकी ती महिलालाई देख्दा मलाई मेरो स्वर्गबासी आमाको झझल्को आइरहेको थियो।

रातभरको ड्युटी सकिएर घर फर्कने बेला बिरामीलाई तपाईंहरु छिट्टै निको हुनुहन्छ भनेर ढाडस दिन्थें। उनीहरु मुसुस्क हाँस्दा मनमा आनन्द हुन्थ्यो। घर फर्कन लाग्दैगर्दा मेरा मनमा करिब १६ वर्ष अगाडिका नेपालका यादहरु सलबलाए, जुनबेला म काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल, सिनामंगलमा नर्सको रुपमा काम गथेंर्। त्यति बेला मेरी आमा पनि बिरामी भएर हस्पिटलमा भर्ना हुनुभएको थियो। उहाँको फोक्सोले काम नगरेर श्वासप्रश्वासमा जटिल समस्या थियो। उहाँलाई आइसियुमा राखिएको थियो। उहाँको नाकमा खाना खुवाउने पाइप अनि नाक र मुख छोपिने गरी अक्सिजन मास्क, पिसाबको लागि क्याथेटर, औंलामा अक्सिजन नाप्ने यन्त्रले सजित एक निरीह बिरामी, जसका आँखामात्र बोल्न सक्थे टुलुटुलु।

हामीलाई देख्दा उहाँका आँखाबाट झरेका आँसु बोल्थे अनि हामी पनि आँसुमै जवाफ दिन्थ्यौँ, दुवैमा छुट्टिनु पर्ने डर थियो। त्यो हस्पिटलको आइसियुमा जम्मा तीन वटा भेन्टिलेटर मात्र थिए। दुई वटामा पहिला नै बिरामी थिए भने एउटा खाली थियो। त्यस दिन मेरी आमालाई साहै्र गाह्रो भएर आयो अर्थात् भनौं भेन्टिलेटर चाहिने भयो तर संयोगवस त्यसै अस्पतालको ८ वर्षको बिरामीलाई अस्कमात भेन्टिलेटर चाहिने अवस्था प¥यो। म त्यतिबेला ओटीमा काम गर्थें। मलाई आइसियुको डाक्टरले तुरुन्त बोलाउनुभयो अनि भन्नुभयो, भेन्टिलेटर एउटा मात्र छ, बिरामी दुई जना, तिम्री आमा र अर्को ८ वर्षको बच्चा। डाक्टरले मलाई संकटमा पार्नुभयो के गरुँ के गरुँ भयो। मैले छोरी भएर हैन नर्स भएर सोचे। मेरी आमा त्यसै पनि केही दिनको मात्र पाहुना हुनुहुन्थ्यो। उहाँले ६ दशकभन्दा धेरै जीवन बिताइसक्नुभएको थियो तर त्यो ८ वर्षको बच्चाको त भर्खर जीवन सुरु हुँदै थियो।

तसर्थ डाक्टरसँगको छलफलपछि बच्चालाई भेन्टिलेटरमा राख्ने निर्णय गरियो। मेरी आमाको समय छोट्टिँदै थियो। समयसमयमा आमाले आफ्नो अन्तिम श्वास पशुपतिनाथको मन्दिरमा जाओस् भन्ने चाहना व्यक्त गर्नुहुन्थ्यो। तसर्थ आइसियुको युनिटबाट निस्केर मेरा दिदीहरु, भाइ अन्य नातेदारहरुलाई फोन गरेँ, आमालाई पशुपति लाने अनुमति डाक्टरसँग लिएँ। अनि आमालाई अस्पतालबाट एम्बुलेन्समा राखेर पशुपति लगियो।

बाटोमा मेरो माइजुले आमाको मुखमा तिर्थहरुको जल हाल्दै कानमा भगवानको नाम सुनाउँदै लग्नुभयो। पशुपति पुगेर धार्मिक विधि अनुसार, उहाँको इच्छा अनुसार, सन्तति र परिवारको माझमा रहेर उहाँले अन्तिम श्वास फेर्नु भयो। मलाई लाग्यो मेरी आमा कति भाग्यमानी।

अहिले यो कोरोनाको माहामारीमा मृत्यु हुनेहरुको लाश पनि सन्तानले राम्ररी हेर्न पाउँदैनन्, अन्तिम समयमा पाउने साथको त कुरै छोडौँ। यस्तो सोच्दासोच्दै घर पनि आइपुगिसकेछ। ढोकामा १२ वर्षे छोराले आमा आएको देखेर नजिक आउँदा मैले उसलाई टाढै रहन भनें अनि बाथरुममा पसेर बेसरी नुहाएँ सायद कोरोनाको भाइरस टाँसिएर आएका भए पनि धोइए होलान्।

कामबाट आएपछि मैले आफैंलाई आइसोलेसनमा राखेँ, श्रीमान् र छोरालाई पनि आवश्यक निर्देशन दिएँ। रातभरि खटेर आएकोले सुतेको थिएँ। अचानक घाँटीमा एक प्रकारको दुखाइको कारण निन्द्रा खुल्यो। अलिअलि खोकी पनि थियो, तर ज्वरो भने थिएन। जीउ पनि दुखिरहेको थियो। मन त्यसै अत्तालियो, म पनि कोरोनाको संक्रमणमा परेँकि भनेर। आफैँले आफैँलाई तुलना गरेँ, घाँटीको र शरीरको दुखाइ अन्य बेलाभन्दा बेग्लै थियो। श्रीमान्ले बेसार, अदुवा हालेर तातोपानी बनाइदिनुभयो। त्यो प्रशस्त पिएँ अनि केही खाएर एउटा टाएनोल खाएर फेरि सुतें। ज्वरो थिएन तर पनि खलखल पसिना आएर फेरि उठेँ।

हिजो आफूले हेरेको बिरामीले श्वास फेर्न गरेको संघर्ष सम्झेँ, मन चसक्क भयो। भित्रदेखि परिवारको माया लाग्यो। संयोगवस मेरो तीन दिन अफ थियो, त्यसैले केही ढुक्क भएँ। फेरि आफैँले मनलाई सम्झाएँ, कोरोना संक्रमण हुनासाथ मरिने त होइन नि। भए पनि जित्न सक्छु। मनमा आफैँ आँट पलायो।

घाँटीको दुखाई र खोकीको लक्षणले भने गति लिँदै थियो। आत्मबल, परिवारको हौसला र श्रीमान् र छोराको सहयोगले गर्दा ज्वरोले हमला गर्नै सकेन। तीन दिनपछि काममा जानुपर्ने थियो तर आँट भने आएन। हस्पिटलमा फोन गरेर डाक्टरसँग आफ्नो समस्या राखेँ, लामो कुराकानीपछि भोलि काममा आउन सक्छौ भन्नुभयो।

चार दिनसम्ममा घाँटी दुख्न पनि कम भयो, अनि खोकी पनि। ज्वरो पनि आएन, परीक्षण पनि भएन। म भोलिपल्टदेखि नियमित काममा गएँ। आफ्नो तालिका अनुसार कोरोना संक्रमित अन्य बिरामीहरु समेत हेरचाह गर्न व्यस्त हुन थालेँ। तर पनि हाम्रो परम्पराले सिकाएको घरेलु उपचार विधिबाट तयार हुने तातोपानी पिउन अहिलेसम्म पूरै परिवारले निरन्तरता दिइरहेका छौं।

म कोरोना संक्रमित भएँ कि भइनँ, त्यो त मलाई थाहा छैन तर मेरो मनले भन्छ कि मैले जितिसके। अब मलाई काममा जान बिरामीको हेरचाह गर्न कति पनि डर लाग्दैन। हामीले हेरेको बिरामी निको भएर जाँदा अझै हौसला थपिन्छ। सुरुसुरुमा हाम्रो हस्पिटलमा संक्रमित बिरामी, सिरियस बिरामी अनि लासको लस्कर देख्दा मन त्यसै अत्तालिन्थ्यो।

बिरामी बढ्ने क्रम करिब तीन हप्ता चल्यो, त्यो समय कसरी बित्यो थाहै भएन। अहिले संक्रमित बिरामी बढ्ने क्रममा कमी आएको छ तर सुरुमै आएका तर निको नभइसकेका बिरामी पनि धेरै छन्।

मनमा भने आँट पलाएको छ, महामारीसँग लड्ने क्षमता पैदा भएको छ। आफू पनि बच्न सक्छु अरुलाई पनि बचाउन सक्छु भन्ने हौसलाका साथ मैले अँगालेको सेवामूलक पेसालाई म सधैँ मन, बचन र कर्मले निभाउने कोशिस गर्नेछु।

स्रोत : स्वास्थ्य खवर


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार १८:४१